ब्लगमा खेज्ने कि ?

Loading...

Tuesday, February 14, 2012

सौन्दर्यबोधमा रक्तसिँचाई [कविता]

सौन्दर्यबोधमा रक्तसिँचाई

- अनुप जोशी

आत्म घटन/आत्म विघटनको कुरुक्षेत्रबाट
सौन्दर्यबोधसम्मको एक वृहद नियात्रा ,
रकेट विमानहरुमा
श्वासाल्पता र 'एनहाइड्रस' अधमरो जिन्दगी !
नहुनु बराबरको ऐन्द्रियता
नहुनु बराबरको मानवीयता
रक्त भण्डारले कुबेर हुँदा-हुँदै पनि
एक फाल्सो जीवनदानको कन्जुस्याँईमा गुम्सिरहँदा
प्रगल्भ एक ऋतु ,
हामफालेँ हरीयो मनोसागर 'पृथ्वी'
कि डुबुल्की मारेँ आत्मोतरसहअस्तित्ववाद ।

इन्द्रिय-लोलुपतामा अनुप्राणीत हुँदै
जादुमय मधुमिश्रित अभिव्यञ्जनाहरुले
सम्पूर्ण स्वामिभक्तिमा
प्रक्षेपण गरेँ अग्निवत् स्वप्नभूमिहरु
उम्रिएँ विचाराङ्कुरहरू
म त ब्रह्माण्डकै सर्वसुन्दर क्याक्टसफूल !
म त सुनखानी रहेछु सुनखानी !

मनोप्रतीपतादेखि आत्मएकतामा सँगोलित हुँदै
जुनसुकै ज्यामितीय आकारहरुमा होस्
रक्त सिँचाईको स्व-अभियन्ता
बाँचिरहेछु 'ऐन्द्रिय संवेदनशिल'
कि यो 'सत्ताइसौँ रक्तदान' सम्म आइपुग्दा
'सहप्राप्ती' को आत्मबोधमा
विना वीर्य नै -
जन्माईरहेछु अनगिन्ती यशु ख्राइस्टहरु ,
बगिरहेछु असिमित प्राणी धमनीहरुमा ।

मृत्यु दौड

मृत्यु दौड

यो पल्टको म्याराथुनमा
मैले पनि भाग लिने सोचेँ
र सखारै आफ्नो नाम दर्ता गराएँ
एक जोडी पुरुष-महिलाले
आफ्नो महत्वपूर्ण नौ महिना खर्चेर
मलाई कुशल खेलाडी बनाईदिए ।
त्यसयता समस्त आत्मशक्ती जुटाएर
दौडिरहेछु , दौ.डि..र.हे.छु...
र बिजयी सिग्नल नआएसम्म दौडिरहनेछु , दौ.डि..र.ह.ने.छु...
कि अजर आत्माहरु !
अब त्यो अन्तिम बिन्दुसम्म पुगेर
मलाई सम्पूर्णत: मृत घोषित हुनुछ ।

kabita

प्रियतमा चोमोलुङ्मा !
यो गतिछाडा/अराजक प्रेमी
अचेल साँच्चिकै बहुलाएको छ
कि हरपल तिम्रो सुनौलो श्रीपेच फुकालेर
त्यो अनुत्पादक मुडुलो टाउकोमा
एक झुप्पो कलमे फूल फूलाउने सपना बुन्छ ।
उसो नि प्रियतमा ,
यी सपनाहरु बुन्न थालेदेखिन्
मलाई स्वप्नदोषले सताउन छाडेको छ ।

पिता: एक लोग्ने-मान्छे [ कविता ]

पिता : एक लोग्ने-मान्छे
- अनुप जोशी



ओ पिता !
जतिबेला तिम्ले मेरी आमासँग बिहे रच्यौ
र सुहागरातको उन्मादमा लत्पत्तियौ
तेतीबेला नै यौटा भयानक षडयन्त्रको बीऊ छर्यौ
-म बिरुद्ध ।
तिम्रो लिङ्गबाट स्खलित भएर
म तिम्रो जुत्ताको पिँधमा चिप्कीन पुगेँ
कि त्यो तिम्रो जब्बर र खस्रो मनभित्र
मेरो स्थान तय गरिसकेका रहेछौ ।



ओ पुजनीय पिता !
तिमी कुनै ग्रीफिन जस्तो चमत्कारी ,
आक्रमक , शुरो र शक्तीशाली मान्छे ।
साँच्चै , तिमी त मेरो सृष्टिकर्ता थियौ
आफ्नै इच्छा परिपुर्ती गर्दै मलाई जन्मायौ
र जब जन्मिएँ ,
तिम्रा तेही इच्छा पुर्ती गर्ने साधन जस्तो
म सम्पूर्णत: तिम्री दासी बनाइएकी छु ।
आखिर म तिम्रो मन्दिरमा चढाइएकी ,
तिम्रै इच्छा अनुरुप जन्माइएकी ,
कुनै महकदार फुल वा नैवेद्य न थिएँ ।



मेरा हातहरु रगतले रंगीरहँदा
गुज्रेका विगतहरु उम्लेर आउँछन्
र यतिबेला, मलाई असीम सन्तुष्टी प्राप्त हुन्छ ।
ओ मेरो पिता !
मातृस्नेह विहीन रुखो बाल्यकाल गुजारेर
म प्रथम रजस्वालाको पीडाले आश्चर्यचकीत हुँदा
मेरा विकाशशिल स्तनहरुसम्म बगी पुगेका
मेरा आँशुका मुन्टाहरु सुम्सुम्याएका थियौ
र भनेका थियौ -
" तेरी आमा मरेर गए के भो त ?
आखिर तँ छेस् नि मेरी ।"
तिमी साँझभरी भट्टीमा रक्सी पिउँथ्यौ
र घर फर्केर रातभरी मलाई पिउँथ्यौ ।
ओ मेरो पियक्कड पिता !
तिमीले नै मेरो शिल तोड्यौ
र बनायौ एउटा जब्बर , जवान स्त्री ।
प्रेम ! तिम्ले मलाई यति प्रेम दियौ
जति पीडा कुनै हिटलरले कुनै यहुदीलाई दिएन
संस्कार ! तिम्ले मलाई यस्तो संस्कार दियौ
कि म आज गर्जिरहेछु एउटा वयस्क सिंहिनी जस्तो ।
ओ मेरो पिता !
आज मैले तिम्रो गर्धनसँगै
हरेक पीडकका जराहरु काटीदिएकी छु
अब यो युगमा तिम्री छोरीहरु
नांगै जन्मिन बाध्ये पारिने छैनन् ।

Friday, December 30, 2011

अराजक हुर्की आएँ सोषीत भई बाँच्दा बाँच्दा : A GHAZAL


बत्तीस् दन्त कड्कडाए शोषित भई बाँच्दा बाँच्दा ।
नसा-नसा जुर्मुराए शोषित भई बाँच्दा बाँच्दा ॥

वस्तीहरु आगो लाउँदै थुनी राख्यौ प्वाल भित्र
मुसा जस्तै चल्बलाएँ शोषित भई बाँच्दा बाँच्दा ॥

तीर हान्यौ अस्तीत्वमा जागी उठ्यो स्वधिनता
अराजक हुर्की आएँ शोषित भई बाँच्दा बाँच्दा ॥

अन्धकारमै चोबेको थ्यौ जुनकीरी झैँ ज्योती छरेँ
क्रान्तिरुपी गीत गाएँ शोषित भई बाँच्दा बाँच्दा ॥

कि समानता लागु गर कि त हामी युद्ध लड्छौँ
चैतन्य यो चेत पाएँ शोषित भई बाँच्दा बाँच्दा ॥

गजल


सेलाएको घाम् समेटी किरमिर साँझ आयो ।
ज्वराक्रान्त मन् टुटेर अप्रधान याम छायो ॥

विदीर्ण यो झुपडीमा सप्तशाषक् कड्की आए
दासत्व त्यो तोड्न खोज्दा जिन्दगीले के नै पायो ॥

सौम्यताले प्रेम् बुन्दा'नि अंतरंगी खेल हारेँ
मदमत्त लत् बसेर तृष्णापेक्षी चाख लायो ॥

वनभूमिमै लाश भएँ परिश्रान्त धुन गुञ्ज्यो
मुक्तहस्त स्वप्नहरु तेती बेलै हार खायो ॥

सौन्दर्य प्रतिबिम्ब : छाँया [कविता- अनुप जोशी]


घाम रंगहरुको सौन्दर्यतामा
इन्द्रधनुष फूलाएर
जतिसुकै चम्किए तापनि
जतिसुकै श्रृंगारिए तापनि
मेरो मस्तिष्कको संग्लो पाप्रोमा
तिम्रो असली छाँया नित्य चल्बलाईरहनेछ
र कु-रुप अनित्य उभिरहनेछौ ।

ससंकित आर्तनादहरुमा बुट्टा भर्दा भर्दै
कलाकौशटको लेप लगाउँदा लगाउँदै
फेरी फर्की नियाल्नु छ त्यो - छाया
निख्खर का........लो !
निख्खर खल्लो !
त्यो रंगहिन आकृति !
. . . . . . . . .!
र मेरो मष्तिष्कको संग्लो पाप्रोमा
तिम्रो असली छायाँ नित्य चल्बलाईरहनेछ
ठ्याक्कै कु-रुप !
कू-रूप दीर्घ बाँचिरहनेछौ ।

ए फूल "विकास"... [ गीत ]


ए फूल "विकास" लुकी नबस शहरमा मात्रै झुल्नलाई ।
पहाड चढेर पुग्नुछ माथि हिमालहरुमा फूल्नलाई ।

दुर्गम त्यी गाऊँ के गरी जाऊँ तिम्रो साथ नभए ।
गरिब त्यी बाबु के गरी बाँचून् तिम्रो हात नरहे ।

दुखी र भोका भ्रमरहरुलाई सुवास तिम्रो छरिदेऊ ।
सुवास मिठो छरेर गाउँघर मधुरसले भरिदेऊ ।

ए फूल "विकास". . . . . .

अँध्यारो कुना आधा पेट भर्छन् फलाम चुट्दै कामी दाई
पँधेरो पुग्न एक घण्टा लाग्छ दुख छ साह्रै हामीलाई

ए फूल "विकास" लुकी नबस शहरमा मात्रै झुल्नलाई।
पहाड चढेर पुग्नुछ माथि हिमालहरुमा फूल्नलाई ।

संझना त आउँछ माया... [ गीत ]


संझना त आउँछ माया भेटै हुन गाह्रो
व्यस्तताले मुटु मेरो छिया छिया पार्यो ।

रातभरी दिनभरी टोलाइरन्छु सँधै
तिमी भने कामै काम भनिरन्छौ सँधै
उर्ली आउँछन् यादहरु बिझ्छन् मनमा साह्रो
यौवनको चाह बढ्छ लाग्छौ तिमी प्यारो ।

वसन्त झैँ रहरहरु फूली आए हेर
जवानीको रंग उँड्ला जान नदिऊँ खेर
फोन गर्छु तिमीलाई फोनै लाग्न गाह्रो
नभन्नु है चोखो माया अन्तै तिर सार्यौ ।

संझना त आउँछ माया भेटै हुन गाह्रो
व्यस्तताले मुटु मेरो छिया छिया पार्यो ।

किनारहरुमा ठोक्किएर... [ गीत ]


किनारहरुमा ठोकिएर फर्किएको छाल जस्तो
निर्झर यामले ओस्सिएछ जिन्दगीको हाल सस्तो ।

रंगहरुले सिँगारेर राखेको यो जोवनलाई
घाउहरुले लेपी गयौ टुक्राउँदै मनलाई ।
अमूर्त रहेछ माया कुनै माकुरीको जाल जस्तो
निर्झर यामले ओस्सिएछ जिन्दगीको हाल सस्तो ।

यादमा जल्दा आँखा मेरो मूल बनेर रसाउँछ
घोचेर मुटु प्रेम ज्वाला बेस्मारी कड्कडाउँछ ।
अन्तिम प्रहर वसन्तको परिश्रान्त ताल कस्तो ?
किनारहरुमा ठोकिएर फर्किएको छाल जस्तो

पेजमा आँखा

 
Design by Free WordPress Themes | Bloggerized by Lasantha - Premium Blogger Themes | cheap international voip calls