सामाजिक प्रोग्रामिङको विपक्षमा (लामो कविता)






सामाजिक प्रोग्रामिङको विपक्षमा (लामो कविता)

यस्तो भयो कि धर्तीमा
ईभोलुसन भयो रोबोटहरुको
र ती आफैले उत्पादन गर्न थाले आफुजस्तै रोबोटहरु

सन् १९९४ को कुनै रात
एक चाबी युक्त रोबोटले अन्ततः
खर्च गरेर सम्पूर्ण उर्जाशक्ति
घुसायो अर्काे ताल्चा युक्त रोबोटमा आफ्नो उत्पादकीय चाबी
र फलस्वरुप नौ महिना पश्चात
सन् १९९५ अगस्त २७ गते
उत्पन्न भयो ताल्चायुक्त रोबोटबाट यौटा शिशु रोबोट ।

श्रंखलाबद्ध पाचौ मूल्यहिन ताल्चा युक्त रोबोटहरु पश्चात
उत्पन्न बहुमूल्य चाबी युक्त रोबोटको खुसीयालीमा
सन्तुष्ट रोबोट जोडीले
आयोजना गरे भव्य न्वारन महोत्सब
गरीयो शिशु रोबोटको नामांकरण ।


          ०—०—०—०



जब सम्मिलित गराइएँ
रोबोट साम्राज्यमा
म त थिएँ फगत यौटा शिशु हार्डवयर
र बाकी नै थियो म मा सफ्ट्वयरहरु ईन्स्टल गर्न

यस्तै ८–९ महिना पुग्दा देखि हो
सिकाउन थालियो मलाई प्रोग्रामिङ् ल्यागंवेज्
म दुई वर्ष नपुग्दै हो
introduce गराईयो धार्मिक अपरेटिङ सिस्टम
सामुन्ने पारेर पत्थरका मूर्ति र हस्तरचित तस्विरहरु
चिनाउन थालियो मलाई भगवानहरु
तेस उप्रान्त बनाइए“ अदृश्य ईश्वरको दासी

देखाएर मेरो चाबी
आत्मबोध गराइयो ताल्चायुक्त रोबोट भन्दा सर्वाेच्च हुनुको
कि मेरो शक्तिशाली चाबीले खोल्न सक्थ्यो जुनसुकै ताल्चा ।
यसै क्रममा हो
म मा पुरुषसत्तावादी सफ्ट्वयर इन्स्टल भएको ।
यही परिवेशमा हो मैले बलिया राजकुमार
र कमजोर यौनवस्तु राजकुमारीहरुको कथा सुनेको ।

यसरी समयको रथ हावामा दौडिदै गर्दा
धमाधम ईन्स्टल गरीए अन्य सफ्ट्वयरहरु पनि
जातीय सफ्ट्वयरले बोध गरायो
म कुन ब्रान्ड र फ्याक्ट्रीको उत्पादन हू ।
वर्गाीए सफ्ट्वयर ईन्स्टल भएपछि
थाहा लाग्दै गयो गरीबी र पुर्वजन्मको फल ।
राष्ट्रिय सफ्ट्वयरको ईन्स्टलसगै
स्तिथिबोध भो आफ्नो देश र सीमानाको
भए अन्ध राष्ट्रवादी
कि देख्न थालें आफ्नो घर बाहिरका सबैलाई शत्रु र पराई ।
यसरी नै ईन्स्टल गरीदै गए
शिक्षा, संस्कार, योन, परम्परा र अन्धविश्वासका विविध सफ्ट्वयरहरु ।
          ०—०—०—०
घातक भाईरसहरुले संक्रमित होलान् भनेर मेरा सफ्ट्वयरहरु
रोबोट समाजले यसैबीच
ईन्स्टल गर्यो म मा एन्टीभाईरस पनि
फलस्वरुप उत्पन्न हुन थाले म मा
डर,
हिनताबोध
र आत्मग्लानिहरु ।
एन्टीभाईरसले सिकायो मलाई नैतिकताका पाठहरु
बाध्यो नियम–कानुनको परिबन्धनमा
कैद गर्याे सामाजिक सुरक्षाघेराको ब्ल्याकहोलमा
र म किमार्थ उभिन नसक्ने बनाईए
यी सामाजिक सफ्ट्वयरहरुका विरोधमा
          ०—०—०—०

१८ वर्षपछि अहिले सन् २०१३ मा उभिएर हेर्दा
स्वस्वत्वबोधका पछिल्ला केहि वर्षहरुलाई
कसरी भएछ अकल्पनीय एन्टी इभोलुसन
र एकाएक ह्याङ् भएर मेरो अपरेटिङ् सिस्टम
खल्बलीएछन् म मा ईन्स्टल भएका सफ्ट्वयरका गिदीहरु

सिर्जित हुन थाल्यो म मा मानवीय संवेदनशीलता
कि म ठ्याक्कै देखिए–आदीम मान्छे ।
कि दासमुक्त हुन थालें मेरा ईश्वरहरुबाट
कि अनईन्स्टल गरें धार्मिक,जातीय सफ्ट्वयरहरु
जोडजोडले ईन्कार गर्दैछु थुनिन देशको काडेतारभित्र
र मुक्तको गीत गाउदैछु यो रोबोट साम्राज्यमा ।

ठीक यसरी भए विद्रोही
सुचारु गराएर कानुन र कुसंस्कारहरुले थुनेको मेरो श्वास
उम्दो मानवीय संवेदनशिलता स“गै यो अमान्छे रोबोटहरुको वस्तीमा–
अस्वीकार गर्दा यहाको व्यवस्था
बारम्बार कहलिंदै आएको छु पागल ।

मलाई ट्रयाक गरीरहेको यो रोबोट समाज
थाहा छैन कहिले तम्सने हो
मेरो एन्टीभाइरस अपडेट गर्न,
अपरेटिङ सिस्टम अपडेट गर्न,
वा फम्र्याट गर्न मेरो हार्डडिस्क ।
तर के तिमी रोक्न सक्छौ यौटा अराजक आधी ?
रोक्न सक्छौ यौटा जबरजस्त भुकम्प ?
          ०—०—०—०

सामुन्ने देखिरहेको छु अमान्छेहरुको झुन्ड
जस्ले देखाएर प्रलोभन
पुन बा“ध्न खोजिरहेका छन् परम्परागत प्रोगा्रमिङमा
धम्की दिईरहेका छन् ध्वस्त पारिदिने मेरो अस्तीत्व
तर म मान्छेको नव संस्करण
यौटा अराजक यायावर
नीडर उभिरहेको छु यो सामाजिक प्रोग्रामिङ को विपक्षमा
उभिरहेको छु संवेदनशिलताको अराजक भूमिमा ।

—अनुप जोशी




Share on Google Plus

About Anup Joshi

Anup Joshi is an emerging young writer searching for space in Nepali literature. He writes poems, stories and lyrics for songs. As a student of English literature he loves reading books. He is also a passionate photographer and enjoys travelling.
    Blogger Comment
    Facebook Comment

0 सुझाबहरु:

Post a Comment